भारतको अयोध्यामा भगवान् श्रीरामको प्राण प्रतिष्ठा

मोदी सहित आठ हजार पाहुना राम मन्दिरमा

भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा प्राण प्रतिष्ठा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो १२ बजेर २९ मिनेटको साइतमा मुख्य पुजा गरेपछि प्राण प्रतिष्ठा गरिएको हो । प्राण प्रतिष्ठाका मुख्य यजमानका रुपमा मोदीले रामको मूर्तिमा फूल र वस्त्र अर्पण गरेका थिए । सो अवसरमा गर्भगृहमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, राष्ट्रिय स्वयं सेवक संघका प्रमुख मोहन भागवत लगायत उपस्थित रहेका थिए । प्राण प्रतिष्ठाका बेला भारतीय वायुसेनाको हेलिकोप्टरबाट मन्दिरमा पुष्प वर्षा गरिएको थियो । कर्नाटकको पत्थरबाट रामको मुख्य मूर्ति निर्माण गरिएको हो । यो मूर्ति अरुण योगीराज नामका व्यक्तिले बनाएका हुन् । मन्दिरको जग एक हजार वर्षसम्म केही नहुने गरी तयार पारिएको छ । प्राणप्रतिस्ठासँगै नवनिर्मित मन्दिरको आज भव्य  उदघाटन हुदै छ । प्राण प्रतिष्ठाका लागि देश विदेशका सयौं सन्त महन्थ लगायत भारतका उच्च पदस्थ व्यक्तित्वहरु, कलाकारहरु, उद्योगपति तथा व्यापारीलगायत हजारौ पाहुना अयोध्या पुगेका छन् । रामनगरी अयोध्या मात्र नभइ भारत भर घरघरमा दिपावली गरिएको छ । भारतको अयोध्याको रामकोटमा सन् १५२८ मा मुगल सम्राट् बाबरले बाबरी मस्जिद बनाउनु अघि नै अस्तित्वमा रहेको राम मन्दिरकै जगमा अहिले यो मन्दिर बनाइएको हो । प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालमा भगवान रामको मन्दिर निर्माण सम्पन्न हुनुलाई निकै महत्वपूर्ण मानिएको छ । सन् २०२० देखि मन्दिर निर्माण कार्य शुरु गरिएको थियो । राम मन्दिरका लागि १ हजार ८ सय करोड भारतीय रुपैयाँको बजेट विनियोजन गरिएको थियो । मन्दिर निर्माणका लागि ४ करोड भारतीय नागरिकले स्वेच्छिक सहयोग गरेका छन् ।  भारतमा भइरहेको उत्सवलाई नेपालमा पनि धार्मिक संघ संगठनले उत्साहका साथ स्वागत गरेका छन् । काठमाडौंसहित नेपालका विभिन्न शहरमा सनातन धर्मावलम्वीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।नेपालबाट माता सीताको जन्मभूमि जनकपुरबाट सजाइएका गाडीहरू अयोध्या पुगेका छन् । नेपालबाट राममन्दिरका लागि शिला, जल र विभिन्न उपहार पठाइएको छ ।।

प्रतिक्रिया