राष्ट्रियसभा निर्वाचन: कोशीमा एमाले र राप्रपाबीच तालमेल हुने

आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि कोशी प्रदेशमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेल हुने भएको छ । कोशी प्रदेशमा राप्रपाले सभामुख पद लिएपछि एमाले र राप्रपाका बीचमा केही खटपट देखिए पनि राष्ट्रियसभा निर्वाचनले दुईदल लाई सहकार्य गरेर जान बाध्य बनाएको छ । राष्ट्रियसभाको निर्वाचनमा राप्रपाले कोशीमा महिलातर्फ कसैलाई उम्मेदवार बनाएको छैन । अन्य तर्फबाट भने उद्धव पौडेललाई अघि सारेको छ । एमालेले उद्धव पौडेललाई सघाउने र महिलातर्फ एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई राप्रपाले सघाउने दुई दलबीच सहमति बनेको हो ।राप्रपाका केन्द्रीय प्रवक्ता तथा राप्रपा कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका भक्तिप्रसाद सिटौलाले हामी मिलेर जाने सहमति भएको छ । आज घोषणा हुन्छ । पत्रकार सम्मेलन गरेरै जानकारी दिने तयारी भएको बताए ।  कोशी प्रदेशमा राष्ट्रियसभाको निर्वाचनका लागि अन्य तर्फबाट एमालेका परशुराम अधिकारी उम्मेदवार छन् । सत्ता गठबन्धनको मतभार बलियो भएकाले एक्लै जाँदा जित्ने अवस्था नभएपछि राप्रपासँग तालमेल गरिएको एमाले स्रोतको दाबी छ । एमालेले अधिकारीलाई ब्याक गराउने र महिलातर्फकी उम्मेदवारलाई जिताउने रणनीति पनि बनाएको छ । कोशी प्रदेशमा राष्ट्रियसभाका लागि ३६७ जना मतदाता रहेका छन् । जसमा प्रदेशसभा सदस्य तर्फ ९३ र १३७ वटा पालिकाका प्रमुख उपप्रमुख गरेर २७४ जना रहेका छन् । राष्ट्रियसभामा प्रदेशसभाका सदस्यको मतभार ५३ रहेको छ भने पालिकाका प्रमुख उप प्रमुखको मत भार १९ रहेको छ । कोशी प्रदेशमा मतदाताको कूल मतभार १० हजार १३५ रहेको छ । कोशी प्रदेशको सबैभन्दा ठूलो दल एमाले हो, एमाले सग ४० प्रदेश सभा सदस्य छन त्यसपछि क्रमशः कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ प्रदेशसभा सांसद रहेका छन् । यी सबै गरेर प्रदेश सांसदहरूको कूल मत भार ४ हजार ९२९ हुनेछ । स्थानीय तहतर्फ कोशी प्रदेशमा १३७ वटा पालिका रहेका छन् । त्यसमा सबैभन्दा बढी नेपाली कांग्रेसका ११३ जना प्रमुख र उपप्रमुख छन् । दोस्रोमा एमालेका ११२, माओवादीका ३१, एकीकृत समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४-४ र स्वतन्त्र ३ जना रहेका छन् । कुल मिलाएर स्थानीय तहका २७४ जनप्रतिनिधिको जम्मा मत भार ५ हजार २०६ रहेको हुन्छ । उनिहरुको एक मतको मतभार १९ रहेको छ ।। प्रदेश र स्थानीय तहको गरी एमालेको कुल मत भार सर्वाधिक ४ हजार २४८ छ । यस्तै, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १,२७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको देखिन्छ । सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र , नेकपा एस र जसपाको कुल मत भार ५,४३६ रहेको छ । बाँकी रहेका एमाले-राप्रपा र स्वतन्त्र सबै मिल्दा कूल मतभार ४ हजार ६९९ हुन आउँछ । यसरी केही मत यताउता भए कोशी बाट फरक नतिजा आउने कुराले सिटौला समूह त्रासमा छ भनी एमाले राप्रपा उनलाई रोक्न लागि परेका छन । सत्ता गठबन्धनले भने अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । महिलातर्फ भने माओवादीकी चम्पादेवी कार्कीलाई अघि सारिएको छ । एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवार उठाउँदा सहज ठानेका सिटौलालाई तालमेलले भने चुनौती थपिएको छ । कांग्रेसभित्रको आन्तरिक किचलो अझै मिलिनसकेको र एकीकृत समाजवादी पनि सत्ता गठबन्धनसँग रुष्ट देखिएकाले सिटौलालाई थप चुनौती देखिएको गठबन्धनकै नेता-कार्यकर्ताले बताउन थालेका छन् । अघिल्लो पटक राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार भएका जसपाका हेमराज राई कम्फर्टेबल बहुमतकै बीच पनि एमालेका सोनाम ग्याल्जेन शेर्पा सग हारेका थिए । राप्रपा र एमालेको तालमेल हुँदा मतभार धेरै फरक नभएकाले सहजै जित्नेमा ढुक्का रहेका सिटौलालाई समस्या देखिएको छ । असोजको २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बन्न केदार कार्कीले पार्टीभित्रैबाट विद्रोह गरे । कार्कीले ८ संसद् लिएर विद्रोह गर्दा उनलाई एमालेको समर्थन थियो । पार्टीमा विद्रोह गरेका ८ जना प्रदेशसभा सदस्यलाई कारबाही गरिनुपर्छ भनेर सिटौलाले पार्टी सभापति देउवा समक्ष कारबाहीका लागि दबाब बढाएका थिए । जुन कुराले अहिले स्वयंम सिटौला लाई समस्या आउन सक्ने देखिन्छ । यो बाहेक कोशी प्रदेशमा उनीनिकट उद्धव थापालाई कोशी प्रदेश संसदीय दलको नेता बनाएकोमा समेत असन्तुष्टि छ । थापा संसदीय दलको नेता भएपछि २ पटक मुख्यमन्त्री नियुक्त भएका थिए । एक पटक बहालवाला सभामुखको हस्ताक्षर गराएर बहुमत देखाएका थापाले अर्को पटक भने, सभा सञ्चालन गरेका सभा अध्यक्षलाई विश्वासको मत पुर्‍याउन मतदान गराएका थिए । उनलाई दुवै पटक अदालतले बरखास्त गरेपछि पार्टीको छवि गिराउन मुख्य भुमिका खेलेको भन्दै सिटौला समूहको काङ्ग्रेस भित्र चर्को आलोचना हुँदै आएकोले राष्ट्रिय सभा निर्वाचनमा सबैलाई एक ढिक्का बनाउन सिटौला लाई सहज भने देखिदैन तर पनि सिटौलाले कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा पुगेर मत मागि सकेका छन । 

प्रतिक्रिया