अयोध्यामा नवनिर्मित राम मन्दिरको आज भव्य उद्घाटन

प्राण प्रतिष्ठासँगै मन्दिरमा पुजा शुभारम्भ हुने

भारतको अयोध्यामा बनाइएको नवनिर्मित मन्दिरको आज भव्य  उदघाटन हुदै छ । नवनिर्मित भव्य राम मन्दिरमा भगवान श्रीरामको मूर्तिको प्राण प्रतिष्ठासँगै मन्दिरमा पुजा शुभारम्भ हुने छ । यस समारोहका लागि सो क्षेत्र दुलहीझैं सिंगारिएको छ । मध्यान्ह १२ बजेर २० मिनेटमा शुरु हुने प्राण प्रतिष्ठा कार्यक्रम १ बजे समापन हुनेछ । प्राण प्रतिष्ठाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कठोर ब्रतमा छन । प्राण प्रतिष्ठाका लागि देश विदेशका सयौं सन्त महन्थ लगायत भारतका उच्च पदस्थ व्यक्तित्वहरु, कलाकारहरु, उद्योगपति तथा व्यापारीलगायत हजारौ पाहुना अयोध्या पुगेका छन् । रामनगरी अयोध्या मात्र नभइ भारत भर घरघरमा दिपावली गरिएको छ । भारतको अयोध्याको रामकोटमा सन् १५२८ मा मुगल सम्राट् बाबरले बाबरी मस्जिद बनाउनु अघि नै अस्तित्वमा रहेको राम मन्दिरकै जगमा अहिले यो मन्दिर बनाइएको हो । प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालमा भगवान रामको मन्दिर निर्माण सम्पन्न हुनुलाई निकै महत्वपूर्ण मानिएको छ । सन् २०२० देखि मन्दिर निर्माण कार्य शुरु गरिएको थियो । राम मन्दिरका लागि १ हजार ८ सय करोड भारतीय रुपैयाँको बजेट विनियोजन गरिएको थियो । मन्दिर निर्माणका लागि ४ करोड भारतीय नागरिकले स्वेच्छिक सहयोग गरेका छन् ।  भारतमा भइरहेको उत्सवलाई नेपालमा पनि धार्मिक संघ संगठनले उत्साहका साथ स्वागत गरेका छन् । काठमाडौंसहित नेपालका विभिन्न शहरमा सनातन धर्मावलम्वीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।नेपालबाट माता सीताको जन्मभूमि जनकपुरबाट सजाइएका गाडीहरू अयोध्या पुगेका छन् । नेपालबाट राममन्दिरका लागि शिला, जल र विभिन्न उपहार पठाइएको छ ।
 

प्रतिक्रिया