मिटर ब्याज पीडितहरूले खाली गराए साहुले हड्पेको घर
सिरहाको लहान नगरपालिका–७ मा मिटर ब्याज पीडितहरूको एक समूहले साहु महाजनले हड्पेको घर खाली गराएका छन् । साहु रामबाबु महतोले हड्पेको घर खाली गराएर मिटर ब्याज पीडितहरूको समूहले पीडित श्याम विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् । श्याम दुई छोरा, श्रीमती र भतिजा–भतिजीसहित घर प्रवेश गरेका छन् । २०७१ मा महतोसँग श्यामका दाइ हिरालालले १० लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिन महतोको नाममा १० धुर जग्गा र घर रजिस्ट्रेशन पास गरिदिएका थिए । ब्याजसहित ऋणरु चुक्ता गरेपछि घरजग्गा फिर्ता गर्ने सहमति भएको थियो । तर ऋणी हिरालालको निधन भयो । त्यसपछि उनका भाइ श्यामले पटक पटक गरी २१ लाख रुपैयाँ महतोलाई बुझाए । २०७७ मा महतोले ५७ लाख हिसाब सुनाए र तिर्न नसके घर खाडी गर्न श्यामलाई चेतावनी दिएका थिए । प्रहरीको अवरोध छल्दै पीडित श्याम घर प्रवेश गरेका हुन । श्यामलाई सहयोग गर्न सयौँ मिटर ब्याज पीडितहरू पुगेका थिए ।सिरहामा मिटर ब्याज पीडितहरूले साहुले हड्पेको सम्पत्ति फिर्ता लिने अभियान नै चलाएका छन् । यसअघि सन्हैठामा साहुले जग्गा कब्जा गरी लगाएको धान पीडितहरू भित्र्याएका थिए ।
प्रतिक्रिया