संसदीय समितिहरु क्यालेण्डरअनुसार सञ्चालन भएनन्: सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरु क्यालेण्डरअनुसार सञ्चालन गर्ने प्रयास भएपनि सफल नभएको बताएका छन । आज संसदीय समितिका सभापतिहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसदीय समिति क्यालेण्डर बनाएर सञ्चालन गर्ने प्रयास भएपनि व्यवहारिक हुन नसकेको बताएका हुन । संसदलाई प्रभावकारी ढंगबाट लैजानको लागि क्यालेण्डर बनाएर कार्यान्वयन गरेर अघि बढ्ने गरी सभापतिहरुसँग छलफल भएको भन्दै सभामुख घिमिरेले हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको बताए । छलफलमा संसदीय समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेस भए सदन चलाउन सहज हुने धारणा समेत सभामुखले राखेका छन । संसदको हिउँदे अधिवेशन यही माघ १८ देखि बोलाउने तयारी भइरहेकाले सो बारेमा पनि छलफल भएको समिति सभापतिहरुले जानकारी दिएका छन । सभामुखले छलफलमा एउटै विषयहरु विभिन्न समितिले हेर्ने गरेको बारेमा पनि चासो राखेका छन । सभामुखसँगको छलफलमा एकैदिन धेरै समितिले मन्त्रीहरुलाई बोलाउँदा मन्त्रीहरुलाई समय निकाल्न कठिन भएको बारेमा पनि छलफल भएको बताइएको छ । 


 

प्रतिक्रिया