कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि सुरु हुँदै

सत्तारुढ नेपाली कांग्रेसले आजदेखि १५ दिने ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्दैछ । माघ २२ सम्म चल्ने अभियानमा कांग्रेसका केन्द्रीय नेताहरूले गाउँटोलसम्म पुगेर जनताका समस्या सुन्ने कांग्रेसले जनाएको छ । गाउँघरमा कांग्रेस प्रतिनिधि गएर जनताका समस्या बुझ्ने र प्रतिवेदनका रूपमा ल्याएर महासमितिको बैठकमा प्रस्तुत गर्ने कांग्रेसको तयारी छ । समुदायमा कांग्रेस अभियानका लागि पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिले जिल्लामा बैठक राखेर वडास्तरसम्म प्रतिनिधि खटाउने र समूह बनाएर छलफल गर्नेछन । अभियानका लागि बनाइएको समूहका किसान, व्यापारी, विद्यार्थी, युवा, तथा विभिन्न समुदायसँग कांग्रेसले अन्तरक्रिया गर्ने कार्यक्रम छ । समुदायमा कांग्रेस अभियान अन्तर्गत आएको तल्लो तहको सुझाव तथा समस्याको प्रतिवेदनमाथि महासमिति बैठकमा गहन छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयको सचिवालयले बताएको छ । कांग्रेसले महासमिति बैठक फागुन ७ मा गर्दैछ । 
 

प्रतिक्रिया