भारतको अयोध्यास्थित राममन्दिरमा प्राणप्रतिष्ठाको तयारी अन्तिममा

भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा प्राणप्रतिष्ठा समारोहको तयारी अन्तिममा पुगेको छ । मन्दिरको गर्भगृहमा आज रामललाको मूर्तिलाई स्नान गराइनेछ । यो स्नानमा रामललालाई सयभन्दा बढी कलशबाट विभिन्न औषधियुक्त पानी दिइनेछ । भगवान श्रीरामको मूर्तिको अभिषेकका लागि सात दिनसम्म अनुष्ठान गरिन्छ । हिजो अभिषेक हुनुभन्दा दुई दिनअघि पुष्पधिवास, सुगर्धिवास र फलाधिवास पूजा गरिएको थियो । भोली हुने प्राणप्रतिष्ठाका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यस्तै, श्रद्धालुको बढ्दो घुइँचोलाई मध्यनजर गरी अयोध्यामा आजदेखि नै सवारी आगमन निषेध गरिएको छ । प्राणप्रतिष्ठामा सहभागी हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि २ सय ६० उच्च सुरक्षा अधिकारीका साथै १ हजार कन्स्टेबल तैनाथ गरिने बताइएको छ । प्राणप्रतिष्ठा समारोहका लागि केन्द्र सरकारले प्रतिष्ठित उद्योगपति, सेलिब्रेटी, राजनीतिज्ञलगायत गरी ५ सय जनालाई आमन्त्रण गरिएको छ । जसमा अर्बपति मुकेश अम्बानी, टाटा समूहका रतन टाटा, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त, अनुपम खेरलगायत छन् ।अयोध्यामा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । १० हजार सीसीटीभीबाट निगरानी गरिने प्रहरीले जनाएको छ । साथै उत्तर प्रदेशका एटीएस कमाण्डो र जवान आर्टिफिसियल इन्टलिजेन्स र एन्टी ड्रोन प्रणालीको माध्यमबाट सुरक्षामा खटिने बताइएको छ । केन्द्र सरकारले सोमबार देशभरका सरकारी कार्यालयमा आधा दिनको बिदा दिएको छ । यस्तै, दिल्ली, उत्तर प्रदेश, गुजरात, छत्तीसगढ, मध्यप्रदेश, हरियाणा, उडिसा, आसाम, उत्तराखण्ड, महाराष्ट्र, राजस्थान, गोवा, त्रिपुरा, चण्डीगढ, पुडुचेरी राज्यले बिदा घोषणा गरेका छन् । बैंकहरु पनि बन्द रहनेछन् ।
 

प्रतिक्रिया