नेचासल्यानको वडा नम्बर - ४ बन्यो आफ्नै भवन बाट सेवा दिने पहिलो वडा
काठमाडौं । सोलुखुम्बुको दक्षिण भागमा अवस्थित नेचासल्यान गाउँपालिकाको वडा नम्बर –४ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष बिना राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममाका प्रमुख अतिथि जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला र विशिष्ट अतिथि सोही गाउँपालिकाका पूर्व अध्यक्ष डुफकुमार बास्तोलाले संयुक्त रूपमा एक कार्यक्रमका बिच वडा कार्यालयको प्रशासनिक भवनको उद्घाटन गरेका हुन् ।
प्रशासनिक भवन उद्घाटनसँगै नयाँ भौतिक संरचना निर्माण गरी आफ्नै भवनबाट प्रशासनिक सेवा प्रदान गर्ने वडा नम्बर –४, नेचासल्यानकै पहिलो वडा बनेको छ ।
वि.सं. २०७८ सालको चैतमा कार्य सम्झौता गरेर बेतघारी कालिका सर्भिस प्रा.लि. ले वि.सं. २०७९ फागुनमै निर्माण सम्पन्न गरेपनि सो भवनको उद्घाटन झण्डै १ वर्षपछि गरिएको हो ।
सँगै कार्य सम्झौता भएका गाउँपालिकाको वडा नम्बर –१ र ५ को प्रशासनिक भवन निर्माणको काम त्यत्तिकै अलपत्र छ ।प्रशासनिक भवन निर्माणको जिम्मेवारी लिएको इन्जिनियरिङ कन्ट्रक्सन काठमाडौंले फाउन्डेसन बाहेकको काम अगाडि नबढाउँदा ती दुबै वडाले घर भाडामा लिएर प्रशासनिक सेवा प्रदान गरिरहेका छन। सोही गाउँपालिकाको वडा नम्बर –२ र ३ भने पालिकाकै स्वामित्वमा रहेका भवनबाट आफ्नो सेवा प्रवाह गरिरहेका छन् ।
१ करोड ८ लाख २२ हजार ८ सय ७९ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको वडा नम्बर –४ को नव निर्मित सो प्रशासनिक भवनको भुँई तल्लामा ५ वटा कोठासँगै महिला – पुरुष शौचालय र पहिलो तल्लामा २ वटा कोठा, स्टोर रुम सहित ५० जना भन्दा बढी अटाउने सभाहल रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि , बिशिस्ट अतिथि सहित राजनैतिक दलका प्रतिनिधिहरुले आ-आफ्नो धारणा व्यक्त गरे । भवन नयाँ हुँदैमा सबै कुरा राम्रो नहुने भन्दै उनिहरुले वडाले प्रवाह गर्ने सेवा चुस्त दुरुस्त र समयमै दिन सबैसग आग्रह गरे ।
कार्यक्रममा गाउँपालिकाको तर्फबाट आफ्नो धारणा राख्दै उपाध्यक्ष बिना राईले नेचासल्यान गाउँपालिका लाई समृद्ध र यहाँका युवाहरू लाई यहीँ बस्न सक्ने वातावरण बनाउने पालिकाले आफ्नो ध्यान केन्द्रित गरेको बताइन ।
गुणस्तरीय शिक्षा , स्वास्थ्य , रोजगारी , सडक , कृषि , पर्यटन र भौतिक पुर्वाधार निर्माणको चरणमा पालिका रहेकोेले यी सबै कुराको बिकासमा सबैको उत्तिकै सहभागिता हुनुपर्ने भएकोले सहयोग र सहकार्यको लागि सबैलाई आग्रह गरिन ।
वडा भवन निर्माणका लागि निशुल्क जग्गा दिने जंग बहादुर राई, रामसुवा राई ,सुजता थुलुङ्ग राई कल्पना थुलुङ्ग राई लाई कार्यक्रममा सम्मान गरिएको थियो ।
प्रतिक्रिया