आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि दक्षिण अफ्रिकामा सुरु
काठमाडौं । आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि दक्षिण अफ्रिकामा सुरु भएको छ । विश्वकपको पहिलो खेलमा अहिले आयरल्यान्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा भइरहेको छ । विश्वकपमा नेपालसहित १६ देशले प्रतिस्पर्धा गर्नेछन् । नेपाल पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेको समूह डीमा छ । नेपालले पहिलो खेलमा जनवरी २१ मा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ । विश्वकपमा १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समूहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समूहमा विभाजन गरेर सुपर सिक्सका खेल खेलाइने छ । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छन् । अन्त्यमा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । विश्वकपको समूह ए मा अमेरिका, बङ्गलादेश, भारत र आयरल्यान्ड छन् भने समूह बी मा स्कटल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इङल्याण्ड रहेका छन् । त्यस्तै समूह सी मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलङ्का रहेका छन् ।
प्रतिक्रिया