प्रधानमन्त्री दाहालले आज युगाण्डामा नाम शिखर सम्मेलनलाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज युगाण्डामा असंलग्न आन्दोलन नामको १९औँ शिखर सम्मेलनमा सम्बोधन गर्दैछन । प्रधानमन्त्रीले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम छ । ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगाण्डाको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ । प्रधानमन्त्री दाहाल आजै राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् । शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्रीले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्चपदस्थहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री आइतबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया