सिंगापुरका यातायात मन्त्री इश्वरणविरुद्ध भ्रष्टाचारको अभियोग

सिंगापुरले एक मन्त्रीविरुद्ध भ्रष्टाचार अभियोग लगाएको छ । सिंगापुरमा यो दूर्लभ घटना हो । महान्यायाधिवक्ताको कार्यालयले पर्यटन मन्त्री भएको बेलामा घरजग्गा व्यापारी ओङ बेङ शेङलाई फाइदा पुग्ने निर्णय गरेर सोको सट्टामा ग्र्यान्ड फ्रिक्सको टिकट, होटल बसाई र हवाई यात्रासमेत गरेर १ लाख ६० हजार सिंगापुर डलर बराबरको उपहारमा लिएको लगायत अभियोग लगाएको छ । आफूमाथिको सबै अभियोग इश्वरणले अस्वीकार गरेका छन् । सत्तारुढ पिपल्स एक्शन पार्टी पीएपीका वरिष्ठ नेता इश्वरण गत वर्ष ओङसहित पक्राउ परेका थिए । मन्त्रिमण्डलमा यातायात मन्त्रीको भूमिकामा  रहेका सुब्रमन्यिम इश्वरणमाथि २७ ओटा अभियोग चलाइएको छ । सिंगापुरमा फर्मूला वन ग्र्यान्ड प्रिक्स भर्खरै आउँदाताका उनी पयर्टनमन्त्री थिए । अभियोग लागेसँगै इश्वरणले पदबाट राजीनामा दिएका छन् । सन् २०२३ को जुलाईयता आफूले पाएको तलब र भत्ता सबै फिर्ता गर्ने पनि उनले बताएका छन् ।सन् २०२३ को जुलाईमा पक्राउ परेयता इश्वरण मन्त्रीको जिम्मेवारीमा बिदामा थिए । तर हरेक महिना उनलाई तलबको रूपमा ८ हजार ५ सय सिंगापुर डलर भुक्तानी भइरहेको थियो । सांसदको रूपमा उनले मासिक १५ हजार सिंगापुर डलरभन्दा धेरैको भत्ता लिइरहेका थिए । सिंगापुरका सांसदहरू विश्वमा सबैभन्दा धेरै तलब खानेमध्येमा पर्दछन् । मन्त्रीहरूको शुरुआती मासिक तलब नै ४५ हजार सिंगापुर डलरभन्दा धेरै हुन्छ । धेरै तलब खुवाएपछि सांसद र मन्त्रीहरूले भ्रष्टाचार गर्दैनन् भन्ने तर्क दिएर बढी तलब दिइएको हो । सिंगापुरमा यस अघि सन् १९८६ मा मन्त्रीमाथि भ्रष्टाचार अभियोग चलाइएको थियो । अभियोग पछि तत्कालीन राष्ट्रिय विकास मन्त्री तेह चियाङ्गले आत्महत्या गरेका थिए । 
 

प्रतिक्रिया