बलुचिस्तानमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको इरानद्वारा स्वीकार
इरानले पाकिस्तानको बलुचिस्तान प्रान्तमा मिसाइल र ड्रोन आक्रमण गरेको स्वीकार गरेको छ । तेहरानले इरान विरोधी आतंकवादी समुह जैश अल–अदलीलाई लक्षित गरेर आक्रमण गरेको जनाएको हो । इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानले आतंकवादी समुह जैश अल–अदलीलाई निशाना बनाएपनि आफ्नो मुलुकले पाकिस्तानको स्वाधिनता र संप्रभुतालाई सधै सम्मान गरेको प्रतिक्रिया दिएका हुन । बलुचिस्तानमा भएको आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । आक्रमणपछि दुई आणविक मुलुक इरान र पाकिस्तानबिच तनाव बढेको छ । इस्लामाबादले आफ्नो भूमिमा गरिएको इरानी आक्रमणलाई गैरकानूनी भन्दै गम्भीर परिणामको चेतावनी दिएको छ । विदेश मन्त्रालयले दुई देशबीचको वर्तमान र भविष्यमा हुने सबै उच्चस्तरीय ‘भ्रमण रद्द’ भएको घोषणा गरेको छ । पाकिस्तानले इरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । इरानी राजदूतलाई तेहरान फर्किनबाट रोकेको छ । इरानले यो हप्ताको सुरुमा इराक र सिरियामा पनि यस्तै हवाई हमला गरेको थियो । यसैविच अमेरिकाले पाकिस्तानको बलुचिस्तानमा इरानले गरेको आक्रमणको निन्दा गर्दै पछिल्ला केही दिनमा यस देशले आफ्ना तीन छिमेकी देशको सीमा उल्लंघन गरेको बताएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले बुधबार पाकिस्तान, सिरिया र इराकमा इरानको आक्रमण चिन्ताजनक रहेको बताएका हुन् । चीनले भने दुवै देशलाई संयमता अपनाउन अपिल गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा दुई देशले अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी संयुक्त राष्ट्रसंघीय बडापत्रको सिद्धान्तअनुसार आपसी सम्बन्ध कायम गर्नुपर्ने बताएकी हुन ।
प्रतिक्रिया