त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी बल परिचालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विमानस्थलको भन्सार जाँच तथा सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३० जनाको टोली परिचालन गरिएको भन्सार कार्यालयले जनाएको छ । अर्थ मन्त्रीस्तरीय निर्णयबाट अनुरोध भएको र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट निर्णय भई विमानस्थलको भन्सार जाँच गर्न दैनिक रूपमा पाँच सिफ्टमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । विमानस्थलको सुरक्षामा सुधार गर्ने, प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले सशस्त्र प्रहरीको प्रत्यक्ष सुपरिवेक्षण तथा निर्देशनमा भन्सार क्षेत्रमा जाँच गर्न शुरू गरिएको बताइएको छ । अर्थ मन्त्रालयले पुस १७ गते विमानस्थल भन्सार जाँचका लागि सशस्त्र प्रहरीलाई खटाउन भन्दै गृह मन्त्रालयलाई अनुरोध गरेको थियो । अर्थको मन्त्रीस्तरीय अनुरोधपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस २६ गते सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेका थिए ।
प्रतिक्रिया