प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन अर्को निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले आज बिहानै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अन्य मन्त्रीहरू, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीसँगको छलफलमा यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुंग्याउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन भनेका हुन । संघयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन नसक्दा त्यसको प्रभाव प्रदेशहरूलाई परिरहेको उनको भनाइ थियो ।  यसैलाई बहाना बनाएर संघीयता विरोधीहरूले संघीयता र प्रदेश सरकारमाथि हमला गरिरहेको तर्फ समेत प्रधानमन्त्रीले ध्यानाकर्षण गराएका छन । प्रहरी नेपाल प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि बढन सकेको छैन । 

प्रतिक्रिया