मेलम्ची खानेपानी पिउन योग्य रहेको खानेपानी मन्त्रालयको प्रष्टिकरण

हल्लाका पछि नलाग्न उपभोक्तालाई आग्रह

खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानी सफा रहेको भन्दै हल्लाका पछि नलाग्न आग्रह गरेको छ । मापदण्ड बमोजिम प्रशोधन गरी पानी पठाइएको भन्दै मन्त्रालयले भ्रममा नपर्न अपिल गरेको छ । मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रसारण गरिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले जारी गरेको सूचनामा पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भए तापनि फ्लसिङसँगै क्रमशः सफा पानी प्रवाह हुने उल्लेख छ । खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ । मन्त्रालयले मेलम्ची खानेपानी सर्वसुलभ रूपमा सबै उपत्यकावासीको घरघरमा सन्तुलित र समानुपातिक हिसाबले वितरण गर्न मन्त्रालय प्रयत्नशील रहेको पनि स्पष्ट पारेको छ । मेलम्ची खानेपानीको नयाँ पाइप लाइन परीक्षण सम्पन्न भएका स्थानहरूमा नयाँ वितरण सञ्जालबाट र परीक्षण नभएका स्थानहरूमा पुरानै वितरण सञ्जालबाट वितरण भइरहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया