देश विकास गर्न नसके राजीनामा दिन प्रधानमन्त्रीलाई सांसद सुवालको सुझाव

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई  देश विकास गर्न नसके राजीनामा दिन सुझाव दिएका छन । २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज  भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिएका हुन । सांसद सुवालले अघिल्लो सरकारहरुले गरेको भएपनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताए । 
सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताए । ८ पटकसम्म उद्घाटन भएको भन्दै एक पटक मात्रै उद्घाटन गरेर पानी वर्षदिन नै वितरण गर्ने काममा लाग्न सुझाव उनको सुझाव छ । अहिलेसम्म मेलम्चीमा पानीका लागि ६० अर्ब खर्च भइसकेको र अब ६० अर्ब खर्च गरेपनि बाह्रैमास पानी काठमाडौं आउन नसक्ने सुवालको भनाइ थियो । २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा जनचेतनामुलक शैक्षिक प्रदर्शनी गरिएको हो । भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा जनचेतनामुलक शैक्षिक प्रदर्शनी भएको हो । 

प्रतिक्रिया