नोबेल शान्ति पुरस्कार विजेता मोहम्मादीलाई थप पन्ध्र महिना जेल सजाय
नोबेल पुरस्कार विजेता इरानकी मानवअधिकारकर्मी नर्गेश मोहम्मादीलाई थप १५ महिना जेल सजाय सुनाइएको छ । इरानको रेभोल्युसनरी अदालतले नोबेल शान्ति पुरस्कार विजेता मोहम्मादीलाई १५ महिना थप जेल सजाय तोकेको हो । नयाँ सजायको आदेशमा उनी दुई वर्ष तेहरानभन्दा बाहिर निर्वासनमा हुने उल्लेख छ । उनलाई हाल रहेको खतरनाक मानिने एभिन जेलबाट स्थान्तरण गरिने बताइएको छ । इरानमा मानवअधिकारको वकालत गर्ने अभियन्ताको परिवारले फैसलाको निन्दा गरेको छ । मोहम्मादीलाई विभिन्न आरोपमा यसअघि बाह्र वर्ष जेल सजाय तोकिएको छ । उनलाई जेलमै इस्लामिक गणतन्त्रविरुद्ध गलत प्रचार गरेको आरोप लागेको छ । मोहम्मादीले सन् २०२१ मार्चदेखि पाँचौंपटक सजाय भोगेकी छन् । उनलाई कुल ३१ वर्ष जेल सजाय तोकिएको छ ।
प्रतिक्रिया