वाइडबडी जहाजमा समस्या आएपछि काठमाडौं–दोहा उडान रद्द
नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या आएपछि काठमाडौं–दोहा–काठमाडौं दुईतर्फी उडान रद्द भएको छ । अचानक उडान रद्द हुँदा उक्त रुटको टिकट काटिसकेका दुवैतिरका गरि ५ सय ३० यात्रु अलपत्र परेका छन । सोमबार राती २ सय ७६ यात्रुसहित काठमाडौं–दोहा उडान तालिका रहेको निगमको ९ एन–एएलजेड कलसाइनको जहाजमा प्राविधिक समस्या आएको हो । उडान गर्न नसक्ने अवस्था आएपछि रद्द गरिएको निगमले जनाएको छ । जहाजमा समस्या आउँदा दोहाबाट काठमाडौं आउन टिकट काटिसकेका २५४ यात्रु अलपत्र परेका छन । दुई न्यारोबडी र दुई वाइडबडी गरि कुल चारमध्ये दुई जहाज ग्राउन्डेड भएपछि निगमको उडान तालिका प्रभावित भएको छ । ४५ दिनयता ग्राउन्डेड निगमको ९ एन–एकेएक्स कलसाइनको जहाज इजरायलमा ग्राउन्डेड छ । थप एउटा वाइडबडी ग्राउन्डेड भएपछि हङकङ, नारिता लगायतका उडान समेत प्रभावित हुने सम्भावना छ ।
प्रतिक्रिया