भालुवाङ बस दुर्घटनाका मृतक १२ जनाकै सनाखत
शुक्रबार राति दाङको भालुवाङमा भएको बस दुर्घटनाका मृतक १२ जनाकै सनाखत भएको छ । सनाखत भएकाको शव पोष्टमार्टमपछि प्रहरीले आज परिवारको जिम्मा लगाउने जनाएको छ । दुर्घटनामा बाँके नेपालगन्जकी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रागिरिका ६५ वर्षीय ताराकान्त पाण्डे र भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने नामका व्यक्तिको मृत्यु भएको छ । यसैगरी श्रीढुस्का–९ जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुम पश्चिम गोतामकोटका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय योगेन्द्रराम जोगेन्द्र र भरतपुर महानगरपालिका–२५, चितवनका ३५ वर्षीय अनिल खड्काको मृत्यु भएको छ । यस्तै भारत नानपाराका ४५ वर्षीय चेतराम शिल्पकार, खजुरा गाउँपालिका–३ सिर्जनशील टोल बाँकेका २५ वर्षीय सञ्जय केसी र कोहलपुर नगरपालिका–८, बाँकेका २८ वर्षीय अर्पण थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये मेडिकल कलेज कोहलपुरमा ११ जनाको उपचार भइरहेको छ । घाइते नौ जनाको बुटवल र एक जनाको भालुबाङमा उपचार भइरहेको छ ।नेपालगन्जबाट काठमाडौंतर्फ आउदै गरेको नमस्ते नेपाल यातायात प्रालिको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती नदीमा खसेर दुर्घटना भएको थियो । तिब्र गति र चालकको लापरबाहीकै कारण यति ठूलो दुर्घटना हुन पुगेको प्रहरीको अनुमान छ ।
प्रतिक्रिया