अफताब आलमविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज नहुने

इँटाभट्टामा मानिसलाई जिउँदै पोलेको अभियोग लागेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज  नहुने भएको छ ।  जिल्ला अदालत रौतहटमा विचाराधीन आलमविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको थियो । तर ७ न्यायाधीशमध्ये आज २ जना मात्रै भएकाले आलमविरुद्ध मुद्दाको पेसी स्थगन गर्नुपरेको हो । आज न्यायाधीशद्वय तेजबहादुर खड्का र गेहेन्द्रराज पन्त मात्रै उपलब्ध भएकाले आलमविरुद्ध मुद्दाको सुनुवाइ स्थगन गर्नुपरेको अदालतले जनाएको छ । अव अर्को दिन पेशी तोकिने बताइएको छयसअघि गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । अदालतको आदेश बमोजिम मंसिर २४ वादी र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाए पनि सुनुवाइको पेसी तोकिएको थिएन । २०७६ साल कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा दर्ता भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा आलमसहित ११ जना थुनामा छन् । २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनताका रौतहटको साविक राजपुर फरहदवा गाबिस– ४ मा निर्वाचन जित्न विस्फोटक पदार्थ संकलन गरी राखेको अवस्थामा विस्फोट हुँदा बम बनाउँदै गरेका पिन्टु भनिने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए ।आलमले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विस्फोटक पदार्थ र हातहतियार तयार गरेका थिए । सांसद उम्मेदवारसमेत रहेका आलमले पोल खुल्ने डरले घाइते भएका पिन्टु र मियाँलाई आफ्नै ईट्टा भट्टाको चिम्नीमा जलाई मारेको उनीमाथि आरोप छ ।। 
 

प्रतिक्रिया