मेलम्ची पानी चौथोपटक उपत्यकामा वितरणको तयारी

सरकारले माघे सङ्क्रान्तिकै दिन माघ एक गतेदेखि उपत्यकामा चौथो पटक मेलम्चीको पानी वितरण गर्ने भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबिच पानी वितरणको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको हो । मेलम्ची खानेपानी विकास समितिका अनुसार पुस २५ गते हेडवक्र्समा पानी छिराइएको पानी सुन्नदरीजलमा आइपुगिसकेको छ । पानीलाई उपत्यकाका विभिन्न पानी भण्डार केन्द्रमा छोडेर सोमबारवाट वितरण थालिने भएको हो  ।पहिलो दिन उपत्यकामा ५ करोड लिटर पानी वितरण गर्ने र त्यो पानी उपत्यकाका सीमित क्षेत्रमा मात्र छोड्ने कार्यक्रम रहेको जनाइएको छ । पानी पुनः वितरण शुभारम्भ भएको दिन केयुकेएललाई पाँच करोड लिटर पानी प्राप्त हुने बताउँदै पहिलो दिन अनामनगर र मीनभवन वितरण केन्द्रबाट पानी वितरण गरिने छ ।पानीको उपलब्धतासँगै वितरणको क्षमतालाई बढाउँदै क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिने योजना छ ।गत साउनमा मेलम्ची नदीमा आएको बाढीका कारण अनिश्चित भएको मेलम्चीको पानी पुनः वितरण गर्न लागिएको हो । समितिले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बिहीबार पानी पथान्तरण गरेको थियो । आयोजना निर्माण सुरु भएको २२ वर्षपछि २०७७ साल चैतमा पहिलो पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिए पनि बाढीपहिरोका कारण सो आयोजना पटक पटक बन्द हुँदै आएको छ तर त्यसले निरन्तरता पाउन सकेन । अहिले पनि अस्थायी रूपमा नै मेलम्चीको पानी वितरण गर्न लागिएको हो । 
 

प्रतिक्रिया