वर्तमान सरकारले शिर झुकाउने कुनै पनि काम गरेको छैन: रक्षामन्त्री खड्का

उपप्रधान तथा रक्षामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको बताएका छन ।     आज कैलालीमा आयोजित कार्यक्रममा उनले सरकारले असाध्यै राम्रो काम नगरेको भए पनि मध्यमस्तरको काम भने गरिरहेको उल्लेख गरेका हुन । उपसभापति खड्काले आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त भएको स्वीकार गरे । 
जनता र सेवाग्राहीसँग जोडिएका विषयमा हुने झन्झट, अप्ठ्यारोपन, ढिलासुस्तीले परेको नकारात्मकता हटाउन सरकारले काम गरिरहेको उपसभापति खड्काको भनाइ छ । उनले सरकार सुशासनको अभियानमा रहेको समेत उल्लेख गरे ।     उपसभापति खड्काले मुलुकको शिक्षा, जलस्रोत, स्वास्थ्यलगायतका क्षेत्रमा भएका विकास कांग्रेसको नेतृत्वमा भएको भन्दै यसबीच भएका कमीकमजोरी सुधार गर्दै जाने पनि उल्लेख गरे । सबैभन्दा पहिले आफूभित्र भएको कमजोरी सुधार गर्दै पार्टीमा भएका कमजोरी हटाउँदै लैजानुपर्नेमा उनको जोड थियो । 

प्रतिक्रिया