सरकारले माघ २ गते २६ औं भूकम्प सुरक्षा दिवस मनाउँदै
नेपालको पश्चिम भागमा महशुस हुने भूकम्प करिव ५ सय १७ वर्षदेखि नगएकाले सञ्चित उर्जाबाट आठ रेक्टर भन्दा ठूलो भूकम्प जानसक्ने जोखिम रहेको विज्ञले औल्याएका छन् । २६ औं भूकम्प सुरक्षा दिवसका विषयमा जानकारी दिन आज काठमाडौंमा आयोजित कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकले सुरेन्द्रमोहन श्रेष्ठले भूकम्पको जोखिमलाई लिएर पूर्वतयारी सधै जरुरी हुने बताएका हुन । गोर्खा, बझाङ, जाजरकोटमा गएको भूकम्पमा कमजोर घर संरचना भत्किँदा ठूलो जनधनको क्षति भएकाले जोखिम कम गर्न पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
विभागले राष्ट्रिय भवन संहिता विशेष गरी स्थानीय तहबाट हुने नक्शा पासमा अक्षरसः पालना हुँदा मात्रै भूकम्प सुरक्षा सुनिश्चित गर्न सकिने जनाएको छ । कमजोर घर संरचनाहरुलाई सुरक्षित बनाउन प्रवलिकरण कार्य अगाडि बढाउन आवश्यक रहेकोपनि विभागको भनाइ छ । आगामी माघ दुई गते २६ औं भूकम्प सुरक्षा दिवस यो बर्ष स्थानीय श्रोत र प्रविधि समेत प्रयोग गरौं,भूकम्प थेग्ने संरचना बनाऔं भन्ने मुल नारासहित मनाइदैछ । १९९० साल माघ २ गतेका दिन गएको महाभूकम्पको स्मृतिमा आगामी माघ दुई गते सचेतनामुलक कार्यक्रम सहित दिवस मनाउन लागिएको हो ।
प्रतिक्रिया