तपस्वी भनिने रामबहादुर बम्जन प्रहरीद्वारा सार्वजनिक

बाल यौनदुराचारको आरोपमा पक्राउ परेका तपस्वी’ रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले आज सार्वजनिक गरेको छ । सीआईवीले आज काठमाडांैंमा पत्रकार सम्मेलन गरेर बम्जनलाई सार्वजनिक गरेको हो । प्रहरीले उनलाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६, टन गाउँबाट बुधबार पक्राउ गरेको हो । 
प्रहरीले बम्जनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार नौ सय ६ रुपैयाँ बरामद गरेको छ । बरामद गरिएका नगद राशिमध्ये १७ देशका विभिन्न मुद्राहरु रहेको र त्यसको नेपाली रकम ३० लाख ९२ हजार ४ सय छ रुपैया रहेको छ । त्यसैगरी प्रहरीले उनको घरबाट १४ थान मोबाईल, ५ थान आईप्याड, २ वटा गाडी र ४ वटा मोटरसाईकल पनि फेला पारेको छ ।
बम्जनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठूलो धनराशीबारे थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको भनाइ छ । ब्युरोले बुधबार नै पक्राउ परेका बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराउने जानकारी दिएको छ ।  प्रहरीले २०७६ सालमा नै सर्लाहीमा एक नाबालिकामाथि यौनदुराचार गरेको अभियोग लागेका बम्जनलाई खोजी गर्दै आएको थियो । उनी विरूद्ध आश्रममा बस्दै आएका तीन आनी र २ चेला गरि ५ जनालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी प्रहरीमा छ । चार वर्षको निरन्तर खोजीपछि बम्जनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । उनी विभिन्न जिल्लाका जंगल आश्रम बनाएर बस्दै आएका थिए ।
 

प्रतिक्रिया