हत्या,बलात्कार आरोपी बम्जनको घरबाट तीन करोड बढि रकम बरामद

रामबहादुर बम्जनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला पारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली र विदेशी मुद्रा बरामद गरेको हो । बरामद भएको विदेशी पैसा भने गन्न बाँकी रहेको छ । त्यस्तै १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ । प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो । लामो समयदेखि उनी लुक्दै बसिरहेका थिए । बमजनविरुद्ध प्रहरीमा हत्या हिंसा र बलात्कारको मुद्दा छ । उनी विरूद्ध आश्रममा बस्दै आएका तीन आनी र २ चेला गरि ५ जनालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी प्रहरीमा छ । बम्जनलाई आज अदालतबाट म्याद थप गराई थप अनुसन्धान गर्ने प्रहरीले तयारी गरेको छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी छ । चार वर्षको निरन्तर खोजीपछि बम्जनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । उनी विभिन्न जिल्लाका जंगल आश्रम बनाएर बस्दै आएका थिए ।।
 

प्रतिक्रिया