राष्ट्रिय सभाका दुई उम्मेदवारमाथि उजुरी, भोली अन्तिम नामावली प्रकाशन हुने

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । उम्मेदवारी दिएका दुई उमेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी परेको हो । भट्टविरुद्ध अपांगतासम्बन्धी प्रमाण नपुगेको तथा बिकविरुद्ध प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी परेको हो । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।  पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिने आयोगले जनाएको छ । माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ । स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ । निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।।

प्रतिक्रिया