कोशी प्रदेशमा सभामुख चयनका लागि आज दिउसो निर्वाचन

राप्रपाका अम्बरबहादुर विष्टलाई सत्ता र प्रतिपक्ष दुबैको समर्थन

पाँच महिनादेखि रिक्त कोशी प्रदेशको सभामुख चयनका लागि आज निर्वाचन हुने भएको छ । मंगलबार बिहान बसेको प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुखको निर्वाचन आजै गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको हो । निर्वाचन प्रक्रियामा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति हो । सभामुख चयनका लागि दिउसो तीन बजे प्रदेश सभा बैठक बोलाइएको छ । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशीमा गत साउन १६ गतेदेखि सभामुख पद रिक्त छ ।सभामुख पद राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई दिने सत्ता गठबन्धनले निर्णय गरेपछि राप्रपासमेत आफ्नो उम्मेदवार अघि सार्न सकारात्मक बनेको हो । राप्रपाले अम्बरबहादुर विष्टलाई सभामुख बनाउने भएको छ । उनी झापाबाट प्रदेश सभा सदस्य बनेका हुन् । सत्ता गठबन्धनले राप्रपालाई सभामुख पद दिने भएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेलेसमेत राप्रपालाई सघाउने निर्णय गरेको छ । एमाले संसदीय दलको आज बसेको बैठकले सत्ता गठबन्धन दल बाहिरबाट उम्मेदवारी परे सभामुखमा सघाउने निर्णय गरेको हो ।  

प्रतिक्रिया