नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

स्मार्ट टेलिकम र एनसेल शेयर प्रकरणमा अध्यक्ष विवादित

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजिनामा दिएका छन् । प्राधिकरणसँग सम्बन्धित खरिद, स्मार्ट टेलिकमको लाइसेन्स खारेजी, एनसेलको सेयर खरिदबिक्रीको प्रक्रिया चलिरहेको समयमा अध्यक्ष खनालले राजिनामा दिएका हुन । टेरामक्स र एमडीएमएस प्रकरणमा पनि खनाल विवादतमा तानिएका थिए । खनालले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई आफ्नो राजिनामा पत्र बुझाएका हुन । उनले भोली बुधबार लागु हुनेगरि राजिनामा दिएका हुन । शर्मा मन्त्री भएदेखि नै अध्यक्ष खनाललाई हटाउन प्रयास गरेकी थिइन । शर्माको दबाब अनुसार काम नगरेपछि मन्त्रालयका सल्लाहकारले पनि खनाललाइ दवाव दिएका थिए । खनालले कार्यकाल सात महिना बाँकी छँदै राजीनामा दिएका हुन । अवैध कल बाइपास, टेलिकम अपरेटरहरुको कलको मात्रा मापन तथा ठगी वा भीओआईपी गेटवेज पहिल्याउन भन्दै खरिद गरिएको टेलिकम्युनिकेसन्स् ट्राफिक मोनिटिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम टेरामक्समा अनियमितता गरेको आरोप खनालमाथि छ । टेरामक्स खरिदमा संसदीय समितिले अनियमितता भएको निष्कर्ष निकालेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकै छानबिनले पनि कैफियत देखाएको भन्दै सञ्चारमन्त्रीले उनको राजीनामा मागेकी थिइन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एमालेका गोकुल बास्कोटाको कार्यकालमा खनाल २०७६ साउन ६ गते प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए । 

प्रतिक्रिया