कृषिमा परनिर्भर बढेकोमा सभामुख घिमिरे चिन्तित

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढंगबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औल्याएका छन ।  काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले केही वर्ष अघिसम्म नेपाल कृषिमा आत्मनिर्भर रहेको भएपनि पछिल्लो समय कृषिमा परनिर्भर बन्दै गइरहेको भन्दै चिन्ता प्रकट गरेका हुन । सभामुख घिमिरेले व्यक्तिले मात्रै कृषि क्षेत्रको उपार्जन गर्ने र उत्पादकत्व वृद्धि गर्नेकुरा सम्भव नरहेकाले सबै मिलेर कृषिमा आत्मनिर्भर बन्नुपर्ने पनि उल्लेख गरे । 
सभामुख घिमिरेले कृषि क्षेत्रलाई राज्यले दिनुपर्ने प्राथमिकता र कृषि क्षेत्रलाई समेत समेटेर बनाइएको सहकारी ऐन, २०७४ पछि पनि कृषिमा कुनै प्रभाव नपरेको बताए । सहकारी क्षेत्र वचत तथा ऋणको कारोबार गर्ने किसिमको मात्रै हुनु नहुने जिकिर उनको छ । कृषिलाई आधुनिक ढंगबाट अघि लैजाने, बाँजो जमिनलाई उर्वर बनाउने कुन ठाउँमा के कुरा उत्पादन गर्ने ? यसको बजारीकरण कसरी गर्ने र सम्भव भएसम्म कृषिलाई यान्त्रीकरणबाट अघि बढाउने बारेमा अध्ययन हुन जरुरी रहेको पनि सभामुख घिमिरेले उल्लेख गरे । उनले सरकारले किसानहरुलाई आफ्नो नीतिअन्तर्गत समेट्नलाई तीन खम्बे अर्थनीति लिएर सहकारीको माध्यमबाट, राज्यले लगानी गर्ने र निजी क्षेत्रलाई पनि समावेश गर्ने सिद्धान्त अपनाएर प्रभावकारी रुपमा काम गर्दै जानुपर्ने पनि स्पष्ट पारे । 

प्रतिक्रिया