राष्ट्रिय सभा निर्वाचनका लागि आज सातै प्रदेशमा उम्मेदवारी दर्ता हुँदै

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमबमोजिम आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै प्रदेशको राजधानीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने छ । निर्वाचनका लागि प्रमुख दल कांग्रेस, एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाइसकेका छन् । एमाले र माओवादीले आइतबार नै उम्मेदवार टुंग्याएका थिए भने कांग्रेसले बिहानै मात्रै टुंगो लगाएको हो । यसपटक सत्ता गठबन्धनसँग एमाले एक्लै चुनाव लड्दैछ । त्यसैले एमालेले सबै १९ सिटकै लागि उम्मेदवारी दर्ता गराउँदैछ । कोशी प्रदेशमा एक/एक जना महिला र पुरुष समूहतर्फ रिक्त हुन लागेकोले सोही पदमा आवेदन दिनुपर्नेछ । प्रदेशगत आधारमा कोशी, मधेश र लुम्बिनीबाट दुई/दुई जना, बागमतीबाट चार तथा गण्डकी, सुदूरपश्चिम र कर्णालीबाट तीन÷तीन सदस्यको निर्वाचन हुनेछ । समावेशी समूह अन्तर्गत अन्य र महिला समूहबाट सात/सात, दलितबाट दुई तथा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट तीन सदस्य निर्वाचित हुने छन । राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्यका लागि माघ ११ गते मतदान हुने छ । त्यसअघि पुस २३ गते सोमबार उम्मेदवारी दर्ता हुने, मङ्गलबार उम्मेदवारको विरोधमा उजुरी दिने, बुधबार र बिहीबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा शुक्रबार उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छरु। प्रकाशित नामावली अनुसार सात वटै प्रदेशमा प्रदेश सभा सदस्यतर्फ कुल ५४९ र स्थानीय तहतर्फ एक हजार ४९८ मतदाता छन । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते मतदान हुँदैछ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । 
 

प्रतिक्रिया