एघार बुँदे सहमतिसँगै बरहथवाको अवस्था सामान्य हुँदै, गृहको टोली घटनास्थलमा

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जय शङ्कर साहको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम पश्चात परिवारले बुझेका छन् । आइतबार राति ९ बजे घटनास्थलबाट उठाइएको मृतकको शव राति नै पोस्टमार्टमपछि परिवारले बुझेर लगेका हुन ।  जिल्ला प्रशासन कार्यालयमा आइतबार साँझ अबेर ११ बुँदे सहमति भएपछि मृतक साहको शव ७८ घण्टापश्चात् घटनास्थलबाट उठाइएको हो । मृतकको शव घटनास्थलबाट उठाइएसँगै बरहथवा बजारको अवस्था आज सामान्य बनेको छ । घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव तथा सर्लाहीका पूर्व प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समिति पनि आइतबार राति नै सर्लाही पुगेका छन । टोलीले आजदेखि छानबिन सुरु गर्ने बताइएको छ । बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा भएको विरोध प्रदर्शनपश्चात् सृजित समस्या समाधानका जिल्ला प्रशासन कार्यालय मलङ्गवामा पीडित परिवार, जनप्रतिनिधि, सुरक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरूको छलफलबाट ११ बुँदे सहमति भएको थियो । मृतकको परिवारका एक जना सदस्यलाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने, प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात् कानुन बमोजिम प्रक्रिया पूरा गरी नगर अस्पताल मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, अस्पताल सञ्चालन सम्बन्धमा नगरप्रमुख र मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको सहकार्य एवं छलफलबाट टुङ्गाउने लगायत सहमति भएको हो । बरहथवा अस्पतालको स्तरोन्नतिको माग गर्दै प्रादेशिक अस्पताल बनाउनु पर्ने मागसहित केही पक्ष आन्दोलित थिए । जारी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली टाउकोमा लागेर स्थानीय ३० वर्षिय जयशङ्कर साहको घटना स्थल मै मृत्यु भएको थियो । गोली लागि मृत्यु भएका जयशंकर साहको आज शवयात्रा सहित बागमती नदीको खर्सलबामा अन्त्येष्टी गरिदैछ । यसैबीच, ईलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गङ्गा बहादुर थापालाई जिल्ला तानिएको छ । उनको ठाउमा हाललाई बरहथवा प्रहरीको कमान्ड सर्लाही जिल्ला प्रहरी कार्यालय मलङ्गवामा कार्यरत प्रहरी निरीक्षक ओम यादवलाई सुम्पिएको छ ।।

प्रतिक्रिया