राष्ट्रियसभा निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन आज

राष्ट्रिय सभामा कांग्रेसले १०, माओवादीले ६ र समाजवादीले र्२ र जसपाले १ सिट पाउने

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्यको समय सकिएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगले जनाएको छ । माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ । 

सत्तारुढ दल बैठक 

राष्ट्रियसभामा रिक्त १९ सिटमध्ये कांग्रेसलाई १० र माओवादीलाई ६ सिट छुट्याउने गरी सत्तारुढ दलहरुले भागबण्डा टुङ्ग्याउने तयारी गरेका छन् । यस्तै, एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट छुट्याउने तयारी छ । तर ३ सिटको दाबी गर्दै आएको एकीकृत समाजवादी र एक सिट दाबी गर्दै आएको जनमत पार्टीले असन्तुष्टि जनाएका छन् । चार दलले मात्रै भागबण्डा गरेको भन्दै नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा पनि असन्तुुष्ट छन् । सहमतिलाई अन्तिम रुप दिन सत्ता साझेदारको बैठक आज पनि बालुवाटारमा जारी छ  । कोशीमा कांग्रेस र माओवादीले एक÷एक, मधेसमा कांग्रेस र जसपाले एक÷एक, सुदूरपश्चिममा कांग्रेस र माओवादीले एक÷एक र लुम्बिनीमा कांग्रेस र माओवादीले एक÷एक सिट पाउने अनौपचारिक सहमति भए पनि बाग्मती, गण्डकी र कर्णालीमा टुङ्गो लाग्न बाँकी छ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुङ्ग्याउने सर्तमा एमालेलाई पनि राष्ट्रियसभामा सामेल गराउने प्रयास सफल हुन नसकेपछि गठबन्धन दलभित्रै भागबण्डा गर्ने तयारी भएको हो । माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि सातै प्रदेशमा सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । 
 

प्रतिक्रिया