गोरखाबाट नेपाली सेनाको एकीकरण पदयात्रा सुरु

काठमाडौँं । विगतका वर्षमा जस्तै यस वर्ष पनि गोरखाबाट नेपाली सेनाले एकीकरण पदयात्रा सुरु गरेको छ । ३०२ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा सेनाले नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाडौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा सुरु गरेको हो । गोरखा दरबारबाट सुरु भएको पदयात्रामा अधिकृतको कमाण्डमा ३० जनाको टोली सहभागी छन् । उनीहरु टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर गण र सबुज गणको झण्डासहित पदयात्रामा सहभागी भएका हुन् । उनीहरुलाई गोरखा दरबार परिसरमा टर्च र झण्डा हस्तान्तरण गरेर बिदाइ गरिएको हो । गोरखाको टोलीले पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै घाटवेशी पुग्ने र टर्च र झण्डा धादिङको शिवदल गणलाई बुझाउने छ । गोरखाले धादिङलाई र धादिङले नुवकोटमा तैनाथ जबरजंग गणलाई तथा नुवाकोटले काठमाडौं नागार्जुनस्थित कालीध्वज गणलाई झण्डा र टर्च हस्तान्तरण गर्ने सेनाले जनाएको छ । कालीध्वज गणले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हनुमानढोकामा आयोजना हुने कार्यक्रमका लागि पुस २६ गते साँझसम्म हनुमानढोका स्थित शार्दुलजंग गुल्मलाई टर्च र झण्डा हस्तान्तरण गर्ने बताइएको छ । एकीकरण मार्ग लगायत ऐतिहासिक धरोहरहरुको जगेर्नासँगै पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ २०७६ सालदेखि सेनाले एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ ।

प्रतिक्रिया