प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने

काठमाडौँं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने भएको छ । शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटा सिटमै उम्मेदवारी दिने निर्णय गरेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरुको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए । 
एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताबारे पार्टीसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरेको छ । 
बैठकले प्रदेश कमिटीको अध्यक्षबाट बाहिरिएका कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, वागमती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी र मधेस प्रदेशका राम अवतार यादवलाई एमालेले केन्द्रिय सदस्यमा मनोनित गरेको हो । त्यसैगरी झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रिय सदस्यमा मनोनित गर्ने निर्णय बैठकले गरेको छ । एमालेले आफ्नो पार्टीका जनप्रतिनिधिहरुलाई काम गर्ने वातावरण निर्माण गर्न पनि सरकारलाई सचेत गराएको छ ।

प्रतिक्रिया