प्रहरीको गोलीवाट एक व्यक्तिको मृत्युपछि बरहथवामा कर्फ्यू

सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले गोली चलाएको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ ।  बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनमत, जसपासहितका दलले गरेको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको हाे  । गोली लागी सोही वडाका जयशंकर साहको मृत्यु भएको  छ ।   साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ ।बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएको भन्दै  स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ । कार्फ्यू बेलुका ५:३० बजेदेखि भोलि बिहान ८ बजेसम्‍म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम जारी गरिएको हो ।

प्रतिक्रिया