भारतीय दूतावासबाट सिधै  २० करोड खर्च गर्ने सम्झौता सार्वभौमिकतामाथिको खेलबाड: खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय दूतावासबाट २० करोड रुपैयाँ सिधै खर्च गर्ने गरिको सम्झौता रद्द गर्न चेतावनी दिएका छन् । खनालले आज विज्ञप्ती जारी गर्दै सम्झौता तुरुन्त रद्द गर्न माग गरेका हुन् । नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भएका चार सम्झौतामध्ये राजदूतावासलाई सोझै २० करोडका योजनाहरू लागू गर्न दिने सम्झौता राष्ट्रियता विरोधी भएको टिप्पणी गरेका हुन् । सम्झौता रद्द नगरिए सरकारविरुद्ध सडकमा उत्रिन बाध्य हुने चेतावनी दिएका हुन् । उनले भारतसँग गरिएको पछिल्लो सम्झौता राष्ट्रियता विरोधी भएको आरोप लगाएका छन् ।उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनाका नाउँमा भएको सहमतिलाई नेता खनालले आश्चर्यजनक सम्झौता भएको उल्लेख गरेका छन् । सम्झौता बमोजिम नेपालस्थित भारतीय राजदूतावासबाट २० करोडका योजनाहरू नेपालभरि सोझै बाँड्न र लागू हुन सक्नेछन् । सम्झौताले नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि खेलबाड गरेको आरोप समेत पूर्व प्रधानमन्त्री खनालले लगाएका छन । 

प्रतिक्रिया