त्रिविको उपकुलपतिका लागि दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । आज एक सूचना जारी गर्दै नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो । सूचनामा योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दस दिनभित्र दरखास्त पेस गर्न भनिएको छ । उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि त्रिभुवन विश्वविद्यालय ऐन, बमोजिम गठित सिफारिस समितिबाट स्वीकृत “त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि बमोजिम उम्मेदवार छनोट गरी सिफारिस गर्ने प्रयोजनमा समिति गठन भएको थियो । उक्त समितिले योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले दश दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय दरखास्त पेस गर्न आह्वान गरिएको छ । उपकुलपतिमा दरखास्त दिनका लागि स्नातकोत्तर र विद्यावारिधि तहका शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि तथा प्राध्यापकको सुरु नियुक्तिपत्रका प्रमाणित प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ । त्यस्तै विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ । त्यस्तै तीन हजार शब्दसम्ममा विश्वविद्यालयसम्बन्धी सोचपत्र पाँच हजार शब्दसम्म चा वर्षे व्यावसायिक कार्ययोजना पनि पेस गर्नुपर्नेछ । 

प्रतिक्रिया