नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गरौँः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले नेपालको इतिहासदेखि राजतन्त्रको अन्त्यसम्मका सामग्री र विषयवस्तु राखेर नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गर्नुपर्ने बताएका हुन् । संग्रहालयलाई नेपालको इतिहास झल्किने बनाउनसके इतिहास अध्ययन गर्नेहरुका लागि हुने उनको भनाइ छ । 
अध्यक्ष नेपालले गणतन्त्र सम्बन्धी एउटा छुट्टै संग्रहालय बनाउनुपर्ने आवश्यकता पनि औल्याए । बैठकमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भारतसँग पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने उल्लेख गर्दै त्यहि अनुरुप योजना बनाउनुपर्ने बताए । 
बैठकमा बोल्ने अन्य सांसदहरुले नेपाल पर्यटन बोर्डको कामकारबाहीप्रति असन्तुष्टि जनाए । 
बैठकमा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले सगरमाथा चढ्नुअघि नेपालमा रहेका ६ हजार र ७ हजार मिटरका अन्य हिमालहरुको आरोहण अनिवार्य गर्ने नियम बनाउन आवश्यक रहेको बताए । 
कार्यकारी निर्देशक रेग्मीले नेपालमा हिमालको संख्या १ हजार ७ सय ९२ रहेको र नाम तोकिएका हिमालको संख्या १ हजार ३ सय १० मात्रै रहेको पनि जानकारी दिए ।

प्रतिक्रिया