खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मधेस प्रदेशलाई हेपेको सांसदहरुको आरोप

सांसदहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मधेस प्रदेशलाई हेपेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले खाद्य व्यवस्था कम्पनीले चाडपर्व लगायत अन्य समयमा समेत मधेस केन्द्रित कार्यक्रम र सहुलियत पसल समेत नराखेर हेपेको आरोप लगाएका हुन् । सांसदहरुले राज्य सत्ताले मधेसलाई हेर्ने दृष्ट्रिकोणमा जस्तै खाद्य कम्पनीले समेत त्यहीअनुसार हेपेर मधेसमा कुनै पनि कार्यक्रम नराखेको भन्दै आपत्ति समेत जनाए । 
सांसदहरुले खाद्य कम्पनीले खाद्य सम्बन्धि काम पारदर्शी र देखिने गरी गर्न आवश्यक रहेको स्पष्ट पारे । सांसदहरुले स्थानीय तहहरूमा औद्योगिक ग्राम स्थापना गर्नका लागि आवश्यक जग्गा खरिद गर्ने व्यवस्था गरिदिन सरकारलाई आग्रह समेत गरे । 
बैठकमा सरकारले आन्तरिक उत्पादन र बजार मागअनुसार खाद्यान्न मौज्दातमा मुलुक सहज अवस्थामा नभएको जनाएको छ । 
बैठकमा खाद्य संस्थान तथा व्यापार कम्पनीले लक्ष्यअनुसार धान खरिद गर्न नसक्ने अवस्था देखिएपछि २ लाख ९१ हजार क्वीन्टल चामल खरिदका लागि टेण्डर आह्वान गरिसकेको जानकारी दिएको छ । 
कम्पनीले भारत सरकारबाट नेपाललाई प्राप्त भएको ९५ हजार मेट्रिक टन चामल आयात कोटामध्ये कम्पनीले आफ्नै आर्थिक स्रोतबाट २० हजार मेट्रिक टन र सरकारको आर्थिक सहयोग भएमा थप २० हजार मेट्रिक टन चामल खरिद गर्ने गरी आवश्यक पहल थालेको पनि जनाएको छ ।
 

प्रतिक्रिया