विधि र व्यवस्था बदल्नका लागि प्रयत्न गर्न सबैलाई पूर्वराजा शाहको आह्वान

पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । आज भैरहवामा भव्य समारोहका बीच पूर्वराजा शाहलाई नागरिक अभिनन्दन गरिएको हो । पूर्वराजा अभिनन्दनका लागि आउँदा शुभेच्छुकहरुले भव्य स्वागत गरेका थिए । 
अभिनन्दपछि सभालाई सम्बोधन गर्दै पूर्वराजा शाहले देश बनाउनका लागि एकताबद्ध हुन सबैलाई आह्वान गरे । उनले बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले देश जर्जर बनेको उल्लेख गर्दै यो अवस्था अन्त्य हुनुपर्ने बताए् । 
नेपालीहरुको सुख दुःख, सुविधा असुविधा, बाधा पीडा तथा अहिलेको अवस्थालाई नजिकबाट नियालीरहेको जनाउँदै पूर्वराजा शाहले देश सुहाउँदो र बलियो आविष्कारहरु मार्फत अगाडी बढ्नुपर्ने बताए । उनले देशको अस्तित्वमाथि नै खिया लाग्दै गएको टिप्पणी गर्दै के गर्दा र कस्तो विधी व्यवस्था बदल्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ त्यसका लागि प्रयत्न गर्न सबैलाई आग्रह गरे । 
पूर्वराजा शाहले मुलुक अहिले सबैले हेप्ने, छड्के आँखाले हेर्ने र अपमानित गर्ने अवस्थामा पुगेको भन्दै चिन्ता समेत प्रकट गरे । उनले आफ्नै स्रोत साधनको परिचालन गरेर देशलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने पनि बताए । कार्यक्रममा नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले जनताले पूर्वराजालाई मुलुकको अभिभावकको रुपमा चाहेको उल्लेख गरे । पूर्व सांसद गंगा चौधरीले दलहरु भ्रष्टाचारमा लिप्त भएकाले राजतन्त्रको पक्षमा जनसमर्थन बढेको दाबी गरिन् । अभिनन्दनअघि विभिन्न ठाउँबाट स्वतस्फूर्त सहभागी भएका नागरिक तथा विभिन्न संघ संस्थाले झाँकी तथा साँस्कृतिक प्रस्तुति गरेका थिए ।
 

प्रतिक्रिया