नेपालमा च्याउको बजार सन्तोषजनक नरहेको व्यवसायीहरुको गुनासोे

नेपालमा च्याउको उत्पादन र उपभोग बढे पनि बजार सन्तोषजनक नरहेको व्यवसायीहरुले गुनासो गरेका छन् । च्याउ उत्पादन लागत प्रतिकिलो ९० रुपैयाँ लाग्ने भएपनि अहिले उत्पादकले प्रतिकिलो ५० रुपैयाँका दरले होलसेलमा बिक्री गरिरहेका छन् । नेपालका ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक रुपमै च्याउ खेती भैरहेको छ । नेपालका च्याउ किसानको लगानी करिब ७ अर्ब पुगेको छ । वार्षिक १० अर्बको च्याउको कारोबार हुने गरेको छ । नेपालमा दैनिक ५० हजार किलो च्याउ खपत हुने गरेको च्याउ उत्पादक संघको अनुमान छ । नेपाली बजारमा च्याउको माग बढेसँगै कन्ये च्याउ, गोब्रे च्याउ, मृगे च्याउ, रातो च्याउ, दुधे च्याउ, पराले च्याउ लगायतको व्यावसायिक उत्पादन हुँदै आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा औसतमा वार्षिक १३ सय मेट्रिक टन च्याउ उत्पादन हुँदै आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा १२ हजार ६ सय ७ मेट्रिक टन च्याउ उत्पादन भएको थियो । वर्ष २०७७/०७८ मा १३ हजार २ सय ४१ मेट्रिक टन, २०७८/०७९ मा १४ हजार ३ सय मेट्रिक टन च्याउ उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ  । 
 

प्रतिक्रिया