सत्तारुढ दलबीच राष्ट्रिय सभा सिट बाँडफाँडमा सहमति जुट्न सकेन

दलहरुले बढी सिटमा दाबी गर्दा समस्या

सत्तारुढ गठबन्धन राष्ट्रिय सभाको निर्वाचनको सिट बाँडफाँटमा सहमति जुटाउन असफल भएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख दलका नेताहरुको बैठकमा सहमति जुटन नसकेको हो । सत्तारुढ गठबन्धनका चार दलहरुको बैठकले सिट बाँटफाँटको विषयमा छलफललाई भने निरन्तरता दिने बताएका छन । 
बैठकमा सरकारमा सहभागी चार राजनीतिक दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका नेताहरु सहभागी थिए । बुधवार बेलुका भएको छलफलले कुनै निष्कर्ष ननिस्के पछि आज फेरि चार दलका नेताहरू छलफलमा जुटेका थिए । सत्ता साझेदार दलहरुले बढी सिटमा दाबी गर्दा सहमति जुटन नसकेको बताइएको छ । यसअघि बुधवार प्रधानमन्त्री दाहालसँगको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गरेका थिए । एमालेको सो आग्रहबारेपनि सत्ता साझेदारविच छलफल भैरहेको छ । संक्रमणकालीन न्याय सम्बन्धी कानुन सहमतिमै पारित गर्ने सर्तमा सत्ता पक्ष र विपक्षीबीच राष्ट्रिय सभामा भागबन्डा गर्न खोजिएको हो । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनका लागि पुस २३ मा मनोनयनको मिति तय गरेको छ । राष्ट्रियसभाका १९ सिटमा माघ ११ गते निर्वाचन हुनेछ । फागुन २० मा रिक्त हुने २० सिटमध्ये एक मनोनीत कोटाको हो । 

प्रतिक्रिया