न्याय परिषद्द्वारा उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त

१६ जना न्यायाधीशहरूको सरुवा

सातै प्रदेशमा रहेका उच्च  अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषदका अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो । जिल्ला न्यायाधीशतर्फबाट २६ जना, न्याय सेवातर्फबाट ४ जना र कानून व्यवसायीतर्फबाट ९ जना गरी ३९ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो । जिल्ला न्यायाधीशतर्फबाट राजेन्द्र अधिकारी, वसन्तराज पौडेल, पूर्णेश्वरप्रसाद उपाध्याय, केशवप्रसाद बास्तोला, जयानन्द पनेरुलगायत उच्च अदालतको न्यायाधीश बनेका छन् । न्याय सेवाबाट महान्यायाधिवक्ताको कार्यालयका सह–न्यायाधिवक्ताद्वय रमादेवी पराजुली र हरिप्रसाद जोशी, सर्वोच्च अदालतका सह–रजिस्ट्रार नेत्रप्रकाश आचार्य र कानून मन्त्रालयका सहसचिव कोशलचन्द्र सुवेदी न्यायाधीशमा नियुक्त भएका छन् । कानून व्यवसायीतर्फबाट खेमराज भट्ट, अस्मिन कुमार राई, मात्रिकाप्रसाद भण्डारी, नरबहादुर खड्का, सानुमैया डंगोललगायतलाई न्यायाधीश बनाइएको छ । त्यस्तै न्याय परिषद्ले उच्च अदालतका १६ जना न्यायाधीशहरूको सरुवा गरेको छ । लामो समयदेखि सर्वोच्च, उच्च अदालतमा न्यायाधीशको पद खाली रहेको थियो ।  यसैविच नेपाल बार एसोसिएसनले न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठलाई उच्च अदालतको न्यायाधीशको रोलक्रम फेरबदलका सम्बन्धमा छलफल गर्न बोलाएको छ । आज एक सूचना जारी गर्दै एसोसिएसनले बिहीबार छलफल राखेको जनाएको हो । उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको नियुक्ति प्रक्रिया र न्याय परिषद्को समग्र काम, कारबाहीका विषयमा छलफल हुने बारले जनाएको छ । 
 

प्रतिक्रिया