ल्याण्डफिल्ड साइट क्षेत्रमा जग्गा विक्री नहुनेदेखि कृषि उत्पादनमा समेत कमी
काठमाडौंको फोहोरको वैज्ञानिक व्यवस्थापन हुन नसक्दाको दुष्परिणाम ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय जनताले भोग्दै आएका छन् । फोहोर फालिएको क्षेत्रका जनतामा फोहोरका कारण बहुआयामिक असर देखिएको छ । यस क्षेत्रका अधिकांश स्थानीय रोगी छन् । त्यसमा झन्डै ८० प्रतिशतमा क्यान्सर देखिएको छ ।
ल्याण्डफिल्ड साइट रहेको सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रको जमिन किनबेच समेत नहुने समस्या छ । फोहोरकै कारणले विवाह गर्न नमान्ने, जग्गा बैंकमा राखेर बैंकले ऋण नदिने समस्या भइरहेको स्थानीयको गुनासो छ ।
कृषि उत्पादनमा कमी हुँदै गएको छ भने भएको उत्पादन पनि कुहिएर झर्न थालेको छ । स्थानीय स्तरमा खुलेका साना उद्योग सबै बन्द भइसकेका छन् । यसले स्थानीयको आयआर्जन र उद्यमशिलतामा असर गरेको छ ।नुवाकोटको सिसडोलबाट २०६२ सालमा २ वर्षको क्षमता रहनेगरी शुरु भएको अस्थायी फोहोर व्यवस्थापन कार्य अहिले ओखरपौवा हुँदै बञ्चरेडाँडासम्म पुगेको छ । तर फोहोर व्यवस्थापनलाई वैज्ञानिक बनाउन नसक्दा स्थानीय जनता मारमा परिरहेका छन् ।
प्रतिक्रिया