सर्वोच्चको मुख्य रजिष्ट्रारमा न्यायपरिषद्का सचिव ढकालको बढुवा

न्यायपरिषद्का सचिव देवेन्द्रराज ढकाल सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा भएका छन् । आज बसेको न्याय सेवा आयोगको बैठकले उनलाई मुख्य रजिष्ट्रारमा बढुवा गरेको हो ।  यस्तै आयोगले सर्वोच्च अदालतका सहरजिष्ट्रार विमल पौडेललाई रजिष्ट्रारमा बढुवा गरेको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त थिए । यसैगरी आयोगले न्याय सेवाका पाँच जना सहसचिवहरूको सरुवा पनि गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेल न्यायपरिषदमा सरुवा भएका छन् । न्याय परिषद्का सहसचिव मानबहादुर कार्की उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेल सर्वोच्च अदालतमा सरुवा भएका छन् । फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेती सर्वोच्च अदालतमा र सर्वोच्च अदालतमा रहेका सूर्यवंश शर्मा कँडेल फैसला कार्यान्वयन महानिर्देशक बनेका छन् ।

प्रतिक्रिया