राष्ट्रिय सभामा एमालेलाई पनि सिट दिन कांग्रेस र माओवादी सकारात्मक

राष्ट्रिय सभा निर्वाचनका विषयमा सहमति खोज्न आज प्रमुख दलबीच छलफल हुने भएको छ । आज दिउसो सत्ता गठबन्धनको छुट्टै र त्यस लगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि छलफल हुने भएको छ । गठबन्धन दलको बैठक दिउसो तीन बजेका लागि बोलाइएको छ । गठबन्धन दलहरूले एमालेसँग राष्ट्रियसभा निर्वाचनका विषयमा साँझ छलफल गर्ने तय भएको छ । बैठकमा राष्ट्रियसभा निर्वाचनमा एमालेलाई साथमै लिएर जाने विषयमा छलफल भएको बताइएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त बैठकले सहमति खोज्नका लागि छलफल अघि बढाउने निर्णय गरेको हो । आगामी माघ ११ मा निर्वाचन हुने राष्ट्रियसभामा १९ सिटमध्ये एमालेलाई केही सिट दिएर जाने विषयमा केही दिनदेखि कांग्रेस र माओवादीले छलफल गरिरहेका छन । फागुन २० मा एमालेका एक मनोनीत सहित ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ ।


 

प्रतिक्रिया