भारतीय विदेशमन्त्री एस जयशंकर भोली नेपाल भ्रमणमा आउदै

भारतीय विदेशमन्त्री एस जयशंकर भोली नेपाल भ्रमणमा  आउदैछन । विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन जयशंकर भारतीय वायु सेनाको विशेष विमानबाट बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम तय भएको छ । दुई दिने नेपाल बसाईको क्रममा विदेशमन्त्री जयशंकरले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकबाहेक उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्नेछन् ।भ्रमणमा क्रममा प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने भएको छ । नेपालले उत्पादन गरेको र भारतीय लगानीमा नेपालमा उत्पादन भएको दुवै प्रकारका विद्युत् बिक्री गर्नेबारे सम्झौताको तयारी भइरहेको छ । दाहालको भारत भ्रमणका भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने प्रारम्भिक सहमति भएको थियो । अरुण तेस्रो जलविद्युत आयोजनाबारेमा समेत भारतीय पक्षसँग छलफल हुने छ । पञ्चेश्वरको संयुक्त डीपीआर टुंगो लगाउने विषयमा पनि कुराकानी हुने बताइएको छ । भ्रमणका क्रममा साना सहयोग परियोजना अन्तर्गतको सहयोग पाँच करोड रुपैयाँबाट बढाएर २० करोड रुपैयाँ पु¥याउने सम्झौतामा पनि हस्ताक्षरको तयारी छ । बैठकमा नेपालले अन्तर्राष्ट्रिय हवाई मार्गको अनुमति माग गर्दै भारत पक्षसँग प्रस्ताव राख्ने भएको छ । 
 

प्रतिक्रिया