रुसी सेनामा गएका थप ३ नेपालीको मृत्यु
रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार लिम्बु रहेका छन् । यसअघि रुसी सेनामा गएका ७ जनाको मृत्यु भएको थियो । योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न नेपालले गरेको अनुरोधलाई रुसले बेवास्ता गर्दै आएको छ । यसअघि स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागलको सेनामै रहेको अवस्थामा मृत्यु भैसकेको छ । आफन्तले दाहसंस्कार गरेका थप दुई जनाको विषयमा परराष्ट्रले औपचारिक पुष्टि गरेको छैन । नेपाली युवा एक वर्षको सम्झौता गरी रुसी सेनामा भर्ती हुँदै आएका छन । तालिम लिएर सैन्य क्याम्पमा प्रवेश गरेपछि सम्झौता अवधि पूरा नभएसम्म फर्कन नपाइने प्रावधान रुसको छ । बीचमै फर्किए वा भागेमा रुसी सेनाको अपराध संहिता अनुसार कारबाही हुने उल्लेख छरु। घाइते भएर वा आरामका लागि सैन्य क्याम्प आइपुगेका नेपालीहरूले आफन्त र नेपाली दूतावाससमक्ष उद्धारका लागि अपिल गर्दै आएका छन् । सेनामा रहेका नेपालीहरुको एकिन संख्या अहिलेसम्म खुलेको छैन ।
प्रतिक्रिया