प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै कोशी फाइनलमा
प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय प्रतियोगिताको उपाधिका लागि कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो क्वालिफायरमा साविक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गर्दै कोशीले बुधबार हुने फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो । यससँगै एपिएफ र कोशीबीच यो प्रतियोगितामा तेस्रो भेट हुने भएको छ । यसअघि समूह चरण र पहिलो क्वालिफायरमा एपिएफले कोशीलाई पराजित गरेको थियो । सुदूरपश्चिमले दिएको ८९ रनको लक्ष्य कोशीले एक विकेटको क्षतिमा १३ ओभरमै पूरा ग¥यो । कोशीका लागि काजल श्रेष्ठले ३८, रुविना क्षेत्रीले ३७ र अप्सरी बेगमले १२ रन बनाइन्। सुदूरपश्चिमका लागि लक्ष्मी साउँदले एक विकेट लिइन् । यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा ८८ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सम्झना खड्काले २५, विन्दु रावलले १७ र कविता जोशीले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । कोशीका लागि संगीता राईले दुई, शवनम राई, निशा शाह र अलिषा खडियाले एक–एक विकेट लिए । अब उपाधिका लागि कोशीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि पहिलो क्वालिफायरमा कोशीलाई नै हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको थियो । फाइनल खेल बुधबार बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।।
प्रतिक्रिया