चीनबाट प्याज आउन थालेपछि प्याजको भाउ सस्तियो
चीनबाट प्याज आउन थालेपछि भारतीय प्याजको भाउ समेत सस्तो हुन थालेको छ । दुई हप्ता अघिसम्म प्याजको भाउ थोकमै किलोको एकसय ६० रुपैयाँ पुगेकोमा अहिले घटेर ८५ रुपैयाँ पुगेको छ । काठमाण्डौको कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज भारतीय प्याजको थोक मूल्य किलोको ७५ देखि ८५ रुपैयाँ छ । यस्तै, चिनियाँ प्याजको थोक भाउ किलोको ६५ देखि ७० रुपैयाँ छ । चिनिया प्याज भित्रिएसँगै मङ्सिरको अन्तिम साता थोकमै प्रतिकेजी १६० रुपियाँ पुगेको भारतबाट आएको प्याज अहिले घटेर ८५ रुपियाँ पुगेको हो । मङ्सिरको अन्तिम हप्ता भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालमा भाउ बढेपनि चीनबाट प्याज भित्रिन थालेपछि भाउ सस्तो हुन थालेको हो । काठमाण्डौमा भारतबाट दैनिक ८० मेट्रिक टन र चीनबाट पाँच/सात मेट्रिकटनसम्म प्याज भित्रिने गरेको कालिमाटी तरकारी बजारको तथ्यांक छ ।
प्रतिक्रिया